कहिले सम्म चल्छ होला यसरी ?

कहिले सम्म चल्छ होला यसरी ?

पुष्पा पौडेल गल्ली-गल्लीकी अनुसन्धान कर्ता हुन्

पुष्पा पौडेल गल्ली-गल्लीकी अनुसन्धान कर्ता हुन्

गल्ली-गल्लीले काठमाडौं महानगरपालिका भित्रका ६ आधारभूत सेवा माथी गरेको सर्भेमा सहभागी अनुसन्धान कर्ताले सर्वसाधारणले दिएका उत्तरका आधारमा लेखेको काठमाडौं बासीको दैनिकी !

फोहोर उठाउने मानिसको सिठीले पाँचै बजे उठायो | दिन बिराएर फोहोर लिन आउने पनि शनिबार नै पर्नु थियो | सुत्न नपाएको कुरा एक ठाउँमा छ | तर, धन्न फोहोर लिने मानिस समयमै आउँछन् र टोलमा फोहोर नउठाउने समस्या भने छैन | अझै सुत्ने मन थियो | तर, फेरि सम्झिएँ आज त टोल सुधार समितिको मिटिङ पो छ | हरेक हप्ता हामी भेला भएर टोलमा आईपरेका समस्याहरुका बारेमा छलफल गर्छौँ र समाधान गर्ने उपायहरु निकाल्ने गर्छौं |

बिहान उठ्दै सोचेँ काठमाडौँ अब पहिलेको जस्तो छैन | जनघनत्व बढेका कारण अब धेरै समस्या पनि बढेका छन् | पहिले मेरै टोलमा धेरै घरहरु थिएनन् | खुल्ला ठाउँहरु थिए | समस्याहरु थिए तर, यति धेरै गतिशिलता भने थिएन | अहिले यति धेरै जनसंख्या वृद्धि भएको छ | तर, त्यहि अनुपातमा सुबिधाहरु बढेका छैनन् | त्यसैले यस्ता समस्याहरुको मिलेर समाधान गर्ने उपायहरु निकाल्नुपर्छ भनेर हामी टोलबासि आफैं सक्रिय भएर केहि वर्ष अघि टोल सुधार समिति गठन गरेका हौँ |

सात बजे म टोल सुधारको मिटिङ बस्ने ठाउँमा पुगे | अधिकांस सदस्यहरु आइपुगिसकेका थिए | आजको मिटिङमा टोलमा भएको ढल निकासको समस्या र बाटो सम्बन्धि विषयमा छलफल हुने कुरा थियो | सबै सदस्यहरुको कुरा सुन्दै थिएँ, कुरा भन्दा पनि धेरै जना आफ्नो समस्या पोख्दै थिए | बाटोको समस्या सबैभन्दा टड्कारो रुपले उभिएको छ | समितिका साथीहरु बाटोको मर्मतका लागि घर घरबाट रकम जम्मा गर्नुपर्छ भन्दै थिए भने कोहि चाहिं नगरपालिकाको सहयोग लिने कुरा गर्दै थिए | म चाहिं दुवै प्रस्तावको समर्थनमा थिए |

 म टोल सुधार समितिमा सक्रिय सदस्य नभए पनि हरेक हप्ताको मीटिङमा सहभागी भएर आफ्नो सुझाव राख्ने गर्छु र टोल सुधार समिति हाम्रा दैनिक समस्या समाधानमा उपयोगी भएको पनि छ | मिटिङ बिना निस्कर्ष टुंगेकाले सबै आ-आफ्नो घर तिर लाग्यौं | घर आएर खाना खाएँ र केहीबेर आराम गर्दै थिएँ, पानी आज पनि आएन भनेर डेरावाल कराएको सुने | गएर भने पानी नआएको धेरै दिन भईसक्यो, अब त ट्यांकरको पानी नै किन्नु पर्ला | खानलाई भने उनीहरु आफैं जारको पानी किन्छन्, हामी आफैं पनि त त्यही गर्छौं | अब के गर्नु पहिला पहिला त उजुरी पनि गर्थें तर खै कसैले पनि सुन्दैनन् उजुरी गरेर के गर्नु ?

ट्यांकर बोलाएर पानी भर्दै दुई बजेछ | खाजा खाँदै थिए छिमेकी बोलाउन आइपुगे | उनको घर आगाडीको मंगालमा ढल जम्मा भएको रहेछ | ढल पनि धेरै नै पुरानो भएकाले होला महिनै पिच्छे बनाउनु पर्छ | कहिले प्लाष्टिक र फोहोर ढलमा हालेर त कहिले बाटो मर्मत गरेर ढलको समस्या व्युंतीई रहन्छन् | ढल निकास बिभागलाई तारन्तार खबर गर्दा पनि केहि सीप लागेन | अब त भन्न पनि छाड्यौं | आफैं मिलेर ढल सफा गर्छौं | ढलको मंगाल पनि सानो छ | अहो कहिले फेरिने होला यो ढल !

ढल बनाउँदै साँझ पर्यो | एकछिन टिभी हेर्नु पर्यो भन्दै थिएँ बत्ती झ्याप्प गयो | तालिका हेरें लोडसेडिङ त हैन फेरी नो लाइटमा फोन गरें | धेरै घन्टी पछि उठाएर भने तार सट भएकाले बत्ति गएको र ट्रान्समिटरमा पनि समस्या छ भने तर कहिले सम्म बन्छ भनेर चाहिं भनेनन् | लोडसेडिङ त छदैछ बेला बेलामा झन्डै हप्ताको ४-५ घण्टा बत्ति यसरी नै जान्छ | उजुरी गरे पछि बनाउन पनि बनाउंछन् | तर फेरी बिग्रिन्छ | के गर्नु यस्तै छ |

समस्यामा बस्ने बानी परीसक्यो अब हामीलाई | जे गरेपनि केहि नहुने देखेर मुकदर्शक बन्ने बानी परीसक्यो | समस्याका खातहरु सोच्दै बेलुकीको खाना सोलारको बत्ति मुनी बसेर खाएँ | सोचेको थिएँ टिभी हेर्दै कपडामा आईरन लाउँछु तर यी सबै काम बत्तिको प्रतिक्षामा थाती राखेर सुत्ने तरखर गर्दै छु | समस्या बखान गर्न थाल्यो भने रातै छर्रलङ्ग होला फेरि | विचारको कुइनेटोले चुस्त दुरुस्त सेवा लिएको कल्पना गर्न सम्म डर लाग्छ | खै कसरी र कहिले सम्म चल्छ होला यसरी !

Leave a Comment