काकाकुल काठमाडौं निरिह मन्त्रालय

 काकाकुल काठमाडौं निरिह मन्त्रालय

नारायणी देवकोटा गल्ली-गल्लीकि  संचार संयोजक हुन् |

नारायणी देवकोटा गल्ली-गल्लीकि संचार संयोजक हुन् |

काठमाडौंका सार्वजानिक यातायात, चिया पसल, कलेज वा कार्यालयमा प्राय: हुने गफ मध्ये पानीको बिषय पनि एउटा हुन्छ | बिहान ३ बजे पानी भर्न उठेको निद्रै पुगेको छैन, हाम्रो टोलमा पानी नआएको एक महिना भन्दा बढी भयो, ट्यांकर वालालाई फोन गर्नु पर्ने अब एक हप्तामा पानी सकिन्छ, चोकको धारामा पानी भर्न गएको एक बाल्टी भर्न दुई घण्टा कुर्न पर्यो, आज के यु के एलको ट्यांकर आउँछ पानी भर्नु पर्ने, जारको पानी किनेर नुहाएको, घरको धारामा पानी आउँदैन नुहाउन कै लागि हेल्थ क्लब जान्छु वा खाना पकाउने पानी छैन रेस्टुराँमा गएर खान थालेका छौं भनेको सुन्नु वा आफैंले भन्नु काठमाडौं बस्ने सर्वसाधारणलाई सामान्य जस्तै भएको छ |

काठमाडौंको पानीको कुरा गर्दा चार कुरा छुटाउन सकिन्न | पहिलो केयूकेएल, दोश्रो मेलम्ची, तेस्रो आकाशे वा जमिन मुनिको पानीको व्यवस्थापन/ व्यवसाय र चौथो यी सबैको नेतृत्व, नियमन गर्न बनेको सहरी बिकास मान्त्रालय |

घरमा महिनौं सम्म पानी नआएर आजित भए पछि काठमाडौंका घरवालाहरु(डेरावालाको त त्यहि वडा कार्यालय जाने कुरा पनि हुँदैन) नजिकको वडा कार्यालयमा गुनासो लिएर जान्छन् | प्राय: वडा कार्यालयका सचिवहरु घरवालालाई केयुकेएल देखाई दिन्छन् | केयुकेएलको गुनासो व्यवस्थापन शाखा भए पनि उसका आफ्नै गुनासाहरु छन् | तर, काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापन गर्न कै लागि केयुकेएल स्थापना भएको कारण महानगरपालिकाले प्रत्यक्ष रुपमा खानेपानीको क्षेत्रमा काम गर्दैन | अप्रत्यक्ष रुपमा काठमाडौं महानगरपालिकाको पनि ३० प्रतिशत सेयर केयुकेएलमा भएको कारण उम्किन भने मिल्दैन | तर, धेरै वडा सचिवहरु र महानगरपालिकाका कार्मचारी पानीको बिषय के युके एल को भनेर उम्कन्छन् |

खानेपानीको कुरा गर्दा, सँगै ढल व्यवस्थापनको कुरा पनि जोडिएर आउँछ | ढलको कुरा जनताले जोडेको नभई केयुकेएलले नै जोडेको छ, खानेपानीको बिलमा अर्को सय प्रतिशत ढलको जोडेर | ढलको कुरा लिएर जाँदा पानी महानगरपालिकाका कर्मचारी फेरी पनि केयुकेएललाई नै देखाउँछन् | केयुकेएलले ढलको काम त्यति गर्दैन, किन खाने पानीको बिलसँगै ढलको पैसा लिन्छ ? भन्ने बिषयमा काठमाडौंका वडा कार्यालयमा ‘कहिले काहिँ केयुकेएलको पानीमा ढल पनि मिसिएर आउने भएको कारण ढलको पैसा लिने गरेको पो हो कि ?’ भन्ने ठट्टा पनि हुने गरेका छन् |

अहिले केयुकेएलले पानी र ढल भनेर छुट्टाछुट्टै शिर्षकमा रकम उठाउनुको कारण ढल निर्माण गर्ने कुनै योजना बनाएर होइन, कार्यालय र कार्मचारी खर्च व्यवस्थापनको लागि भएको पाइन्छ | केयुकेएलका सहायक प्रबन्धक डोल प्रसाद चापागाईं  भन्छन्, ‘अहिले उठ्ने रकमले पनि पुगेको छैन, ढलको लागि भनेर उठाएको पैसा ढल व्यवस्थापनमा खर्च गर्ने हो भने, केयुकेएल बन्द गरे पनि हुन्छ |’

यति बेला काठमाडौं उपत्यकामा प्रत्येक दिन ४० करोड लिटर पानीको माग छ | तर, केयुकेएलले वर्षामा १४ करोड र  हिउँदमा ८ करोड लिटर दैनिक उपत्यका बासीलाई पानी दिएको छ | त्यसमा पनि भनिन्छ, ३६ प्रतिशत चुहावट छ | ३६ प्रतिशत चुहावटको कारण पानी वर्षा याममा ८ करोड ६० लिटर र हिउँद याममा ५ करोड १२ हजार लिटर अहिले काठमाडौंका जनताले पानी पाउँछन् | अर्थात् कोहि ४० लिटर जाने भाँडो लिएर जाँदा वर्षा याममा साढे आठ लिटर र हिउँदमा ५ लिटर भन्दा अलिकति बढी पानी पाईने हुन्छ |

मेलम्चीको पानी, जुन १७ करोड लिटर प्रतिदिन आउने भन्ने छ, त्यो आए पछि पनि काठमाडौं निवासीले हरेक दिन ४० लिटर पानी चाहिँदा वर्षामा २५ लिटर र २२ लिटर पानी पाउने अवस्था रहन्छ | मेलम्चीको पानी काठमाडौंमा ल्याए पछि सरकारले लार्के र यांग्दी खोलाको पानी ल्याउने भन्ने कुराकानी चलिरहेको छ | तर, त्यसको योजना निर्माण तर्फ काम भएको छैन | लार्के र यांग्दी नदीको पानी काठमाडौंमा ल्याउन सक्ने हो भने बल्ल काठमाडौंको खानेपानीको समस्या समाधान हुन सक्छ | तर त्यस बारेमा योजना निर्माण हुने र कार्यन्वयन हुने समय कति लाग्छ यसै भन्न सक्ने अवस्था छैन |

पानीको हाहाकार भएर अताल्लिएको काठमाडौंलाई आगामी वर्ष काठमाडौं प्रवेश गर्ने सम्भावना भएको मेलम्ची खानेपानी आयोजनाले केहि शितलता प्रधान गर्ने अनुमान छ | तर, धेरै मानिसलाई सरकारी तबरबाट भनिएको १७ करोड लिटर प्रतिदिन मेलम्चीको पानी भने अझै केहि वर्ष काठमाडौंका घरका धारामा आउने छैन | मेलम्चीको १७ करोड लिटर मध्ये ८ करोड लिटर मात्रै धाराबाट आउने छ |

यत्रो वर्ष लगाएर निर्माण भएको मेलम्चीको पानी काठमाडौं आउँदा किन ८ करोड लिटर मात्रै आउँछ त ? भनेर सोध्दा सहरी बिकास मन्त्रालयका सहायक प्रवक्ता कविन्द्र कार्की भन्छन्, ‘अहिले काठमाडौंमा भएका पाइपहरुले धन्न सक्दैनन् भनेर हो !’ काठमाडौंमा अहिले रहेका र मेलम्ची अन्तर्गतको पिआईडीले बिछ्याइएको पाइपले मेलम्चीको पुरै पानी धन्न नसक्ने हुनाले बाँकी ९ करोड लिटर पानी बागमती नदीमा बगाईने योजना रहेको कार्की बताउँछन् |

सहरी क्षेत्रमा पानीको कुरा गर्दा आकाशे पानीको व्यवस्थापन पनि दिर्घकालिन एक उपाय हो | यो बारेमा बहस सुरु भएको लामो सामय पछि गत साउनमा संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको भवन निर्माण निर्देशिकाको एउटा बुँदा ‘घर बनाउँदा आकासे पानीको व्यवस्थापन गर्नै पर्ने’ पनि छ | तर, त्यो लागू गर्ने वा हुने कुरामा प्रशस्तै शंका गर्न सकिन्छ | काठमाडौं उपत्यकाका ८० प्रतिशत घर भवन निर्माण मापदण्ड बिपरित बनेको कुरा बैसाख १२को भूकम्पले पुष्टि गर्यो | अर्को तर्फ, सरकारी संयन्त्र नै हरेक बन्ने घरले मापदण्ड पुरा गरे नगरेको निरिक्षण गर्ने मात्रामा उपलब्ध छैन |

त्यसो त काठमाडौंको खानेपानी व्यवस्थापनको कुरा आउँदा निजी तवरबाट संचालित बोतल, जार र ट्यांकर व्यवसायीलाई पनि छुटाउन मिल्दैन | सरकारी र स्थानीय जनताको तारोमा यी व्यवसायीहरु परिरहेका छन् भने, निजी तवरबाट जथाभावी पानी निकालेका कारण कतै काठमाडौंको जमिन मुनिको पानीको सतह घट्दै गईरहेको छ | भने कतै दुर्गन्धित नदीको नजिकै बाट डीप बोरिंग गरेर पानी बेचिने गरेको छ | केहि समय अगाडी संबिधानसभामा पिउन प्रयोग गरिने जारको पानीमा फोहोर भेटिएको समाचार आएको थियो |

समस्या कति सम्म छ भने, वरपर अत्यधिक पानी तानिएको कारण भूकम्प अगाडी मातातिर्थको पानी सुकेको बताउँछन् काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका निर्देशक सन्जिब बिक्रम राणा | कस्तो ठाउँको पानी बेच्न दिने वा नदिने, कुन क्वालिटीको पानी बेच्न पाउने, नपाउने वा दुर्गन्धित पानी बेचेमा कस्तो दण्ड हुने भन्ने बारेमा सरकारले कुनै काम गरेको छैन | पानीको निजी व्यवसाय संचालन गर्ने संस्थाहरुको नियमन गर्ने कुनै निकाय नै छैन |

कुरा कति सम्म लाज मार्दो छ भने, निजी तबरबाट उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायीले हामीलाई नियमन गर्ने गर, खानेपानी व्यवसायीलाई लाईसेन्स प्रणाली अन्तर्गत ल्याउ बरु हामी व्यवसायी सहयोग गर्न तयार छौं भन्दा पनि सहरी बिकास मान्त्रलय दश वर्ष देखि कानमा तेल हालेर बसेको छ | सहरी बिकास मन्त्रालयले किन नियमन नगरेको त भन्ने प्रश्नमा कविन्द्र कार्की भन्छन्, ‘सहरी बिकास मान्त्रलयसँग नत कुनै प्रबिधि छ नत दक्ष जनशक्ति !’

काठमाडौंका जनताका घरका धारामा पानी कहिले आउला त भन्ने प्रश्नको जवाफ वडा कार्यालयका सचिव देखि सहरी विकास मन्त्रालयका हाकिम सम्मलाई थाहा छैन | न कुनै नेता छन्, जोसँग यो बिषयमा म यसो गर्न सक्छु भन्ने योजना छ | जो सहरी बिकास मन्त्रालयको मन्त्रि होस् र काम गरोस् ! आउँदै गरेको मेलम्चीले मात्रै, भवन निर्माण मापदण्डमा परेको रेन वाटर हारभेस्टिंगको बुँदा, वा ट्यांकरको पानी कुनै एकले मात्रै काठमाडौंको बढ्दो मागलाई सम्बोधन गर्न सक्दैन | यी सबैलाई एकसाथ अगाडी बढाउने नेतृत्व नहुने हो भने काठमाडौं अझै काकाकुल बन्दै जाने देखिन्छ !

 

 

 

 

 

 

Leave a Comment