काठमाडौका नदि खोलामा सफा पानी बगाउने कुरा

काठमाडौका नदि खोलामा सफा पानी बगाउने कुरा

img14 काठमाडौका नदि खोलामा सफा पानी बग्ला त भनेर हामीले चैत्र महिनाको सुकुल बहसको तयारी गर्दै गर्दा रुद्रमति सरोकार समाजका दाईहरु सरसफाई अभियान अगाडी र पछाडीको रुद्रमति(धोबी खोला)का फोटोहरु, अधिकार सम्पन्न वाग्मति सभ्यता एकिकृत विकास समितिले बनाएको भविश्यको वाग्मतिको फोटोलाई आगामी वर्षको भित्तेपात्रोमा कसरी राख्ने भनेर छलफल गर्दै हुनुहुन्थ्यो । हामीले सुकुलबहसमा बोलाउँदा केहि मानिसले माथिबाट ढल मिसाई रहने र तल खोलामा गएर सफा गर्ने काम मुख्य सचिव लिलामणि पौडेलको सस्तो प्रचार बाजि मात्रै हो भन्ने कुरा गर्दै थिए ।

कार्यक्रमको तयारीको दौरानमा काठमाडौका नदिखोला फोहोर हुनुमा मुख्य गरि दुईवटा कुरा जिम्मेवार रहेछन् भन्ने थाहा भयो । घर, कार्यलय, कारखानबाट निस्कने ढल सिदै नदिमा मिसाउने एउटा कारण हो भने घर, कार्यलय, कारखानाबाट निस्कने फोहोर प्लास्टिकमा पोको पारेर खोलामा फाल्ने अर्को कारण हो । यी दुई कारणले दुई प्रकारका समस्याको विकास गरेका छन् । नदिखोलामा फोहोरलाई प्लास्टिकका झोलामा फोहोर पोको पारेर फाल्ने अबस्था अल्पकालिन समस्या हो । जसलाई केहिमहिनामा विभिन्न तरिकाद्धारा ब्यवस्थापन गर्न सकिन्छ । बिभिन्न माध्यमबाट निस्केका ढल सिदै खोलामा मिसाउने समस्या नदिखोला(काठमाडौका मात्रै होईन सायद संसार भरिका)को दिर्घकालिन समस्या हो । यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले नै ब्यवस्थित सहरीकरणको निर्माण गर्ने र त्यसको लागि कडा कानुनको ब्यवस्था गर्नु पर्ने हुन्छ ।

सरसफाई अभियानले मात्रै सफापानी बग्दैन

काठमाडौका नदिखोलामा हरेक सनिवार हुने सरसफाई कार्यक्रमले नदिखोलामा फालिने फोहोरको सफा गर्ने र त्यसलाई ब्यवस्थापन गर्ने गरेको छ । यो एक अभियान कै रुपमा रहेको कारण आफु भन्दा पछि आउने मुख्य सचिवले पनि त्यसको नतृत्व गर्ने वर्तमान मुख्य सचिव तथा सरसफाई अभियानका नेता लिलामणि पौड्याल बताउँछन् । पौड्याल भन्छन्, ‘सरसफाई कार्यक्रमले एक अभियान कै रुप लिएको छ । अब स्थानिय बासिन्दा पनि स्वत स्फुर्त रुपमा यसमा सहभागि हुँदै गईरहेका छन् । आउने मुख्य सचिवले पनि यसलाई निरन्तरता दिनु होला ।’

ट्रिटमेन्ट प्लान्टको निर्माणले नै सफा पानी बग्छ

छलफल कार्यक्रमको दौरानमा हामीले विभिन्न जिम्मेवार मानिसहरुसँग कुरा गर्दा अहिले भैरहेको सरसफाई अभियानले काठमाडौका नदिखोलामा जम्मा भएको फोहोर सफा गर्ने काम हुन्छ । तर, सरसफाई अभियानले मात्रै काठमाडौका नदिखोलामा सफा पानी बग्दैन । काठमाडौका नदिखोलालाई ढलमुक्त बनाउनको लागि ट्रिटमेन्ट प्लान्टको निर्माण गर्नु पर्ने हुन्छ । काठमाडौमा अहिले एउटा मात्रै ट्रिटमेन्ट प्लान्ट संचालनमा रहेको छ, जुन गुहेश्वरीमा छ । गुहेश्वरीको बाहेक काठमाडौमा अन्य चार स्थानमा फिल्टर प्लान्टको रुपमा पोखरीहरु रहेका छन् । भक्तपुरको सल्लाघारी, काठमाडौको गोकर्ण, ललितपुरको धोबीघाट र ललितपुरको कोड्कुमा रहेका पोखरीहरु अहिले कुनै काम गर्ने अवस्थामा छैनन् । यी चारवटै स्थानमा रहेको जग्गामा काठमाडौ उपत्यका खानेपानी लिमिटेड अन्तर्गत रहेको योजना कार्वान्वयन निर्देशनालयले ट्रिटमेन्ट प्लान्ट निर्माण गर्दै छ । र, गुहेश्वरी स्थीत ट्रिटमेन्ट प्लान्टको क्षमता अभिबृद्धी गर्ने काम हुँदैछ ।

योजना कार्वान्वयन निर्देशनालयका आयोजना प्रमुख, तेजराज भट्ट भन्छन्,‘२०१८ सम्ममा हामीले यो काम सक्ने योजनामा छौँ ।’ काठमाडौमा ठुलो आकारका पाँचवटा ट्रिटमेन्ट प्लान्टको निर्माण सकिए पछि पनि रुद्रमति, टुकुचा, विष्णुमति, बल्खु लगायतका खोलाहरुले आउँदा वर्षहरुमा अहिलेको भन्दा बढी मात्रामा दुर्गन्ध छर्दै बग्ने छन् । यी बाग्मतिका शाखा नदिहरुको लागि योजना कान्यान्वयन निर्देशनालयले १५ वटा स्थानमा अध्ययन गरिरहेको योजना प्रमुख तेजराज भट्ट बताउँछन् । आयोजना प्रमुख भट्ट भन्छन्, ‘हामीले ‘रुद्रमतिमा ट्रिटमेन्ट प्लान्टको लागि कुरा गरिरहेका थियौ । त्याहाका सभासदले त्यसको ब्यवस्था गर्नु भएको थियो । तर, बस्तीको नजिकै ट्रिटमेन्ट प्लान्ट बनाउँदा स्थानिय बासिन्दाको विरोध हुन्छ । त्यसको लागि अन्डरग्राउण्ड ट्रिटमेन्ट प्लान निर्माण गर्ने र त्यसको वरपर बगैचाको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि हामीले अध्ययन गर्दै छौँ ।’ काठमाडौका नदिखोलामा सफापानी वग्नको लागि सबै ट्रिटमेन्ट प्लान्ट निर्माण हुने यकिन मिति बताउन नसके पनि छिट्टै काठमाडौका केहि वर्षमा नै सफा पानी बग्ने र त्यसको लागि योजना कार्यान्वयन निर्देशनालयले पहल गर्ने भट्ट बताउँछन् ।

काठमाडौका नदिखोलामा मिसाईने ढललाई ट्रिटमेन्ट प्लान्टमा उपचार गरेर खोलामा खसाउदैमा नदिखोला सफा हुँदैनन् । नदि खोला सफा गर्नको लागि फोहोर जथाभावी फाल्ने नेपालीहरुको सस्कार बदल्नु पर्ने मुख्य सचिवको भनई छ । यसरी सरकारी तहबाट ट्रिटमेन्ट प्लान्टको निर्माण र जनताको तहबाट फोहोर ब्यवस्थापनको कार्य गर्ने हो भने काठमाडौका नदिखोलामा सफा पानी बग्न सक्छ । जब सम्म जथाभावी फोहोर फाल्ने हाम्रो बानीमा परिवर्तन आउँदैन तब सम्म सरकारले ट्रिटमेन्ट प्लान्ट बनाईदिए पनि काठमाडौका नदि खोलामा सफा पानी बग्दैन ।

Leave a Comment